प्रधानमन्त्री देउवाले पाए सं‌सद्‌मा विश्‍वासको मत

deuba
सुदूर प्रेस संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्‍वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्‍नि सापकोटाले घोषणा गरेका हुन् ।

देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गरेका छन् । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

सभामुख सापकोटाका अनुसार मतदानमा २४९ उपस्थित भएका थिए । प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका सांसदहरुले मत दिएका हुन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले समेत देउवालाई मत दिएका छन् ।

विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्‍वासको मत लिएका हुन् ।

प्रकाशित:
2021/07/19, 6:34