प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९ औँ स्मृति दिवस आज मनाइँदै

Bp koirala
सुदूर प्रेस संवाददाता

धनगढी– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व गर्नुभयो । उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो । २०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । कोइराला, कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विस २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट पनि नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

वि.स. १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

प्रकाशित:
2021/07/21, 8:29