कञ्चनपुरमा अवैध रूपमा ल्याइँदै गरिएको ठूलो परिमाणको चिनी ट्रकसहित बरामद

baramad
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– अवैध रूपमा भित्र्याइरहेको ठूलो परिमाणको चिनी आज (बिहीबार) प्रहरीले बरामद गर्न सफल भएको छ। 

बेदकोट नगरपालिका-१० दैजी बेलडाँडी सडक खण्ड भएर मिनी ट्रकमा ल्याइँदै गरिएको ९८ बोरा चिनी सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिन सफल भएको हो। 

चोरी पैठारी गरी ल्याइँदै गरिएको सूचनाका आधारमा प्रहरीले  चिनीसहित ट्रक बरामद गर्न सफल भएको हो। सुपप्र ०१००१ क १९०१ नम्बरको ट्रकमा चिनी ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। 

उनका अनुसार बरामद चिनीको मूल्य तीन लाख १८ हजार पाँच सय र नियन्त्रणमा लिइएको टाटा मिनी ट्रकको मूल्य ६ लाख ८१ हजार गरी जम्मा नौ लाख ९९ हजार पाँच सय पर्छ।

चिनीसहित मिनी ट्रक र चालक भरत विष्टलाई कानुनबमोजिम आवश्यक कारबाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालया बुझाइएको छ। 

यसैबीच प्रहरीले आज  भीमदत्त नगरपालिका १ भासीस्थित बिक्की गुप्ताले भारतबाट भन्सार छलेर ल्याएको ४२ क्विन्टल चिनीसमेत बरामद गरेको छ। 

गुप्ताको गोदामका छापा मारी प्रहरीले दुई लाख ७३ हजार रुपैयाँ बराबरको चिनी बरामद गरेको हो। बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

प्रकाशित:
2021/07/30, 8:13