कञ्चनपुरमा लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

lagu ausadh
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–बेदकोट नगरपालिका–३ शंकर ईटाभट्टा नजिकबाट लागूऔषध खैरो हिरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  

पूर्व पश्चिम राजमार्गको शंकर ईटाभट्टा नजिकबाट भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ का ४२ वर्षीय रमेश दमाई,  ३७ वर्षीय तपेन्द्र स्वार र भारत उत्तर प्रदेशको बरेलीका २८ वर्षीय मोहमद आरिफ रहेका छन्।

पक्राउ परेकाहरुको साथबाट  १९ दशमलव ९७ ग्राम लागूऔषध खैरो हिरोइनसहित २ वटा मोटरसाइकल र लागूऔषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु, मोबाइल पनि बरामद गरिएको छ।

पक्राउ परेकामध्ये भारतीय नागरिक लागूऔषध कारोबारी हुन सक्ने प्रहरीको आशंका छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा तीनै जनालाई पक्राउ गरिएको बताए। लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान भइरहेकाे न्याैपानेले जानकारी दिए।

प्रकाशित:
2021/07/31, 7:43