सुदूरपश्चिम प्रदेश स्तरीय भाषा तथा संस्कृति सङ्गोष्ठी धनगढीमा भव्यताका साथ सम्पन्न

सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश स्तरीय भाषा तथा संस्कृति सङ्गोष्ठी धनगढीमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना तथा नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीको संयोजनमा शनिवार भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले सहकार्य गरेका थिए । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, राष्ट्रिय भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट,सु.प. प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. टी.एन.जोशी, नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव तथा राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका उपाध्यक्ष माधव अधिकारी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार पद्मराज जोशी लगायतले धारणा राख्नु भएको थियो ।

समारोहमा डा. बद्री शर्मा बिनाडी, वासुदेव पाण्डेय, आचार्य श्री घनश्याम लेखक, डा. नारायणी भट्ट,डा. जीवन राना, मोहन प्रसाद चौधरीले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि सहभागीहरूले टिप्पणी गरेका थिए ।

प्रकाशित:
2023/06/27, 4:08