सुदूरपश्चिममा मन्त्रालय दिन नेतृत्वलाई नागरिक उन्मुक्ति पार्टीको दबाब

सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरुले पूर्वसहमतिअनुसार मन्त्रालय लिन नेतृत्वमाथि दबाब बढाएका छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

उन्मुक्ति पार्टीले कांग्रेस र माओ‌वादीसँग भूमि व्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालय पाउने सहमति भएको भन्दै सोहीअनुसार भागबण्डा मिलाउन माग गरेको हो । प्रदेश सरकार गठनका बेला भागबण्डामा उन्मुक्तिलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परेको थियो । उसले दुई वटा मन्त्री र एउटा राज्यमन्त्री नपाएसम्म सरकारमा नजाने अडान लिएको छ ।

उन्मुक्ति पार्टीलाई दुईवटा मन्त्रालय दिन अहिले भइरहेका एक मन्त्रीलाई राजीनामा गराउनुपर्ने हुन्छ । सत्तारुढ कांग्रेस, माओवादी र एकीकृत समाजवादी मन्त्रालय छोड्न तत्काल तयार देखिएका छैनन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले बजेट पास भएपछि सरकार विस्तारका बारेमा निर्णय लिने बताएको छ ।

५३ सदस्यीय प्रदेशसभामा सरकारको पक्षमा बहुमत कायमै राख्न २७ सदस्यको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी सहभागी छन् । कांग्रेसका १९, माओवादीका ११, उन्मुक्तिका सात र एकीकृत समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् ।

कांग्रेसबाट बझाङ–१ का सांसद पृथ्वीबहादुर सिंहको भने हालै निधन भएपछि त्यो सीट खाली छ । उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले आफ्नो पार्टी तेस्रो ठूलो दल भएकाले हैसियत अनुसार मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएका छन् ।

गत माघ २६ गते काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए पनि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रकाशित:
2023/06/30, 6:55