दार्चुलामा नरसिंह विष्टको हत्यामा संलग्नलाई जन्मकैद

दार्चुला – जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डाेकटका नरसिंह विष्टकाे हत्यामा संलग्न एक जनालाई जन्मकैदकाे फैसला गरेकाे छ ।

विष्टकाे हत्यामा संलग्न भएकाे पुष्टि गर्दै साेमवार अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले व्यास–४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयाे । यही घटनामा संलग्न रहेका अन्य चार जनालाई अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा व्यास–४ का पूर्व वडाध्यक्ष सग्रामसिंह विष्ट, झुनसिंह विष्ट, प्रेमसिंह विष्ट र मोहनसिंह विष्ट रहेका स्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

जन्मकैद फैसला सुनाइएका दीपकलाई प्रहरीले गएकाे मङ्सिर ११ गते पक्राउ परेको थियो । गएकाे मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिका–४ डोबकाे दार्चुला–तिङ्कर सडक खण्डमा नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको दीपकले प्रहरीसमक्ष स्वीकार गरेका थिए । दुवै जनाले जाँड–रक्सी खाएकाे अवस्थामा भेट हुँदा विवाद भएकोमा दीपकले नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेका खुलेकाे थियाे ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका नरसिंह विष्ट मङ्सिर ४ गते बेलुकी मृत अवस्थामा भेटिनुभएकाे थियाे । उहाँकाे शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ मा होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्न मङ्सिर २ गते खलङ्गाबाट घर जानुभएकाे थियाे ।

प्रकाशित:
2023/07/13, 7:05