सुदूरपश्चिमको बजेटमा चरम बेथिति, सांसद विकास कोषमा पाँच करोड बाड्ने तयारी

सुदूर प्रेस संवाददाता

धनगढी-आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष (प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने सहमति भएको छ । 

शनिबार दिउँसो सरकार र सत्तारुढ दलका नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको एक सांसदले बताए । 

सरकारको नेतृत्व गरेको दल कांग्रेससहित सबै सत्तारुढ दलहरुले बजेट पारित नगर्ने भन्दै सरकारमाथि दबाब बढाएपछि सरकार बजेट थप्न सहमत भएको हो । बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल, प्रमुख सचेतक मानबहादुर धामीलगायतका सांसद थिए । नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी, कैलाश चौधरी, खुसीराम चौधरी लगायतका सांसद थिए । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावल थिए । उनीहरु तीनै दल सत्तारुढ घटक हुन् । यसअघि उनीहरुले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय नै गरेका थिए । 

उनीहरुबीच छलफलकै कारण प्रदेशसभा बैठक निर्धारित समयमा बस्न ढिलाई भएको छ । बैठक साढे ३ बजेका लागि आह्वान गरिएको थियो ।

प्रकाशित:
2023/07/15, 4:38