प्रतिपक्षी सांसदको बहिस्कारबीच सुदूरपश्चिमको बजेट पारित, विपक्षमा राप्रपाको एक मत

सांसद कोष बढाएर पाँच करोड पुगाएपछि सत्ता पक्षीय सांसदले गरे बजेट पारित
सुदूर प्रेस संवाददाता

धनगढी– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत बजेट शनिबार अबेर राति पारित गरिएको छ ।

सरकार भागबन्डाको राजनीतिमा लिप्त भएको भन्दै एमालेका ९, राप्रपा र एक स्वतन्त्र सांसदले बैठक बहिष्कार गरे । त्यसपछि प्रतिपक्ष दल बिना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि सत्तारुढ दलका नेता र मन्त्रीले राप्रपाकी एक्ली सांसद खेमादेवी बिष्टलाई बाटोबाटै फर्काएर प्रदेशसभामा उपस्थित गराई बजेट पास गरेका हुन् ।

स्रोतकाअनुसार मुख्यमन्त्री कमलबहादुर शाहसहित दलका नेताहरूले राप्रपा सांसद बिष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने सहमति गरेर बैठकमा उपस्थित गराइएको हो । 

बजेटको पक्षमा ३९ र विपक्षमा राप्रपाको एक मत मात्रै परेको थियो । पक्षमा कांग्रेसका १८, माओवादीका १०, नागरिक उन्मक्तिका सात र एकीकृत समाजवादीका चार जनाले मतदान गरेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा एक जनाको निधन भएको थियो भने सभामुख र उपसभामुखले मतदानमा भाग लिएनन् ।

अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरेर सभामुखले सभा विसर्जन गरेका थिए । यसअघि सत्तारुढ दलकै सांसदले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि सरकारलाई बजेट पारित गर्न निकै समस्या परेको थियो । 

यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष अर्थात् प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने सहमति भएपछि मात्रै बजेट पास गर्न सत्ता पक्षीय सांसद सहमत भएका हुन् ।  

प्रकाशित:
2023/07/16, 7:42