थाइल्यान्ड र म्यान्मारमा रोजगारीमा जाँदै हुनुहुन्छ होसीयार

सुदूर प्रेस संवाददाता

काठमाडौँ — थाइल्यान्ड र म्यान्मारमा रोजगारीमा जानुअघि ती देशमा रहेका नेपाली कूटनीतिक नियोगमा सम्पर्क गरी रोजगारदाताको बारेमा बुझ्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्यान्ड र म्यान्मारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलब/सुविधाको प्रलोभनमा गैरकानुनी रुपमा त्यहाँ पुगेकाहरुलाई बन्दी बनाएर अवैध काममा लगाएको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले त्यस्तो आग्रह गरेको हो । ‘विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई प्रचलित नेपाल कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान अनुरोध गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नहुन र आफैंले समेत सम्बन्धित कम्पनी/रोजगारदाताको बारेमा वेवसाइट/टेलिफोन/इमेल मार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ ।’ 

नेपालबाट पर्यटक भिसामा थाइल्यान्ड हुँदै म्यानमार रोजगारका लागि पुगेकाहरुले चिनियाँहरुको आपराधिक समूह अनलाइन ठगीको काममा लगाउने गरेका थिए । म्यान्मारको विद्रोही समूहको नियन्त्रणमा रहेको चीनको सीमावर्ती क्षेत्रमा त्यस्ता आपराधिक समूह सक्रिय रहँदै आएका छन् ।

चिनियाँ नागरिकहरु नाइके रहेका यस्ता आपारधिक समूहमाथि कारबाही गर्न पनि चीनले पनि म्यान्मारसँग आग्रह गरेको थियो ।

गत मे महिनामा म्यान्मार भ्रमणमा गएका चीनका तत्कालीन विदेशमन्त्री छिन काङले म्यान्मार सरकारलाई आपराधिक समूहमाथि कारबाही गर्न आग्रह गरेका थिए । 

राम्रो रोजगारीको प्रलोभनमा थाइल्यान्ड हुँदै नेपालीहरू म्यान्मार पुग्ने गरेका छन् । ‘प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानुनी रूपमा थाइल्यान्डबाट स्थल मार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक २१-१३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानुनी काममा लगाउने गरेको बुझिन आएको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

साथै आपराधिक समूहको कब्जामा पुगेका केही नेपालीको उद्धार गरे पनि अझै धेरै बन्धक अवस्थामा काम गर्दै आएका छन् ।

‘नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेका छन् र थप नेपालीको उद्धारको प्रयास भइरहेको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्नसमेत चुनौतीपूर्ण रहँदै आएको छ ।’

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानुनअनुरूप निषेध गरिएका कार्यहरूमा संलग्न हुने/गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकोले यस्ता गैरकानुनी कार्यहरू नगर्न/नगराउन र यसतर्फ सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित:
2023/07/31, 8:06