डडेलधुराको आलितालका पहिरो पीडितले तीन सातापछि पाए त्रिपाल

सुदूर प्रेस संवाददाता

डडेलधुरा –पहिरोबाट विस्थापित भएका डडेलधुराको आलितालका पीडितहरूले झन्डै तीन साता पछि टेन्टको बास पाएका छन् । 

२० दिनदेखि स्थानीय विद्यालयका बस्दै आएका उनीहरूलाई अहिले जङ्गल छेउमा पालमा राखिएको हो । कमजोर बसोबासले महिला, बालबालिका र वृद्ध वृद्धाको स्वास्थ्य बिग्रिन थालेको छ । 

आलिताल गाउँपालिका वडा नम्बर १ का ७० वर्षीय कालु सुनार परिवारसँगै घर छाडेर २० दिनसम्म जनज्योति आधारभूत विद्यालयमा बसे । गाउँ माथिबाट पहिरो गएपछि आलितालका २२ परिवारले विद्यालय हातामा कष्टकर जीवन बिताए । पहिरोबाट ढुङ्गा खस्ने क्रम अझै रोकिएको छैन । झरी निरन्तर परिरहँदा महिला, बालबालिका र वृद्ध वृद्धाको स्वास्थ्य बिग्रिन थालेको छ ।


आफूहरू दौडधुपमै रहेको इन्द्रबहादुर औजीले बताए । सुखले खान र घरमा सुरक्षित रहन नपाएको उनको दुखेसो छ । ‘खाना पिना मात्र होइन, हामीलाई शिर लुकाउने सुरक्षित ठाउँ मिल्थ्यो कि’ पीडित सरस्वती औजीले अपेक्षा राखिन् ।

अहिले भने पहिरोपीडितलाई नजिकैको टाँक भन्ने ठाउँमा राष्ट्रिय वनको खुला क्षेत्रमा टेन्टमा सारिएको छ । उनीहरूलाई यहाँ बस्न वडा कार्यालयले समन्वय गरेको हो ।

मालागाँउ र भोकागाउँका २२ परिवारले दुई वर्षदेखि नै पहिरोको समस्या झेल्दै आएका हुन् । तर यो वर्षामा ठूलो पहिरो गएर बस्नै नसक्ने अवस्था आएपछि उनीहरू विस्थापित हुन बाध्य भएका हुन् ।

प्रकाशित:
2023/08/18, 9:28