दार्चुलाका शिक्षक चार दिनदेखि सम्पर्कविहीन

दार्चुला — दार्चुलाको लेकम गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अनिरुद्र भट्ट चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।


लेकम गाउँपालिका–२ बिटोरास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भट्ट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लेकम गाउँपालिका–२ सुगरखालीका ५६ वर्षीय भट्ट बुधबार दिउँसो नुहाउन भनी घरबाट निस्किएका थिए । तर परिवारले प्रहरीलाई शुक्रबार मात्रै जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

प्रहरीले भट्ट बेपत्ता भएको जानकारी पाएलगत्तै खोजी सुरु गरेको तर अहिलेसम्म फेला पार्न नसकेको जनाएको छ । प्रहरी चौकी राताबाट प्रहरी परिचालन गरी प्रधानाध्यापक भट्टको खोजी भइरहेको बताइएको छ ।

प्रकाशित:
2023/08/20, 7:31