एसिया कप : आज भारतको सामना गर्दै नेपाल

सुदूर प्रेस संवाददाता

श्रीलंका– एसिया कपमा नेपालले आज उपाधि दाबेदार टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो ।

श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । समूह ‘ए’ बाट सुपर फोरमा पुग्ने दोस्रो टोली टुंगो लगाउन नेपाल र भारत भिड्ने छन्। आजको खेलमा जुन टिम विजयी हुनेछ, उसले सुपर फोरमा स्थान बनाउने छ ।

प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग खेल्न लागेको हो । रोहित पौडेल भर्सेस रोहित शर्माबीचको खेललाई लिएर समर्थक उत्साहित छन् ।

विश्व क्रिकेटका सुपर स्टार विराट कोहली, रोहित, श्रेयस ऐयर, इशान किशन, शुभमन गिल, हार्दिक पान्डेयाविरुद्ध बलिङ गर्न सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने तयार छन् ।

भारतले एसोसिएट राष्ट्र नेपाललाई कमजोर आक्ने छैन । पाकिस्तानसँगको खेल वर्षाका कारण रद्द भएपछि सुपर फोरमा पुग्न भारतलाई नेपालमाथि जित आवश्यक छ । नेपालको पनि सुपर फोरको सम्भावना बाँकी नै छ ।

नेपालसँग दुई सय ३८ रनको जित र भारतसँग खेल रद्द भएपछि तीन अंक बनाएको पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । पाकिस्तानी बलरसामु शीर्ष क्रम चल्न नसक्दा नेपाल १०४ रनमै अलआउट भएको थियो ।

त्यस्तै पहिलो खेलमा भारतका स्टार ब्याटर पाकिस्तानी बलर सामु चल्न सकेनन् । कप्तान रोहित शर्मा ११ तथा विराट कोहली चार रनमा आउट भएका थिए । तर मध्यक्रममा हार्दिक पाण्डेया र इशान किसनले १३८ रनको साझेदारी गरेपछि भारतले पाकिस्तान सामु २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दोस्रो इनिङ्स सुरुनै भएन ।

आज पनि क्यान्डीमा पानी पर्ने सम्भावना छ । पानी परेकै कारण नेपाली टिमले हिजो (आइतबार) मैदानमा अभ्यास गर्न पाएन ।

सिनियर टोलीहरुको यो पहिलो भेट भए पनि दुई छिमेकी देशका युवा टोली पटक-पटक एक अर्काविरुद्ध खेलिसकेका छन् । सन् २०१७ मा मलेसियामा सम्पन्न एसीसी यू-१९ एसिया कपमा नेपालको युवा टोलीले भारतविरुद्ध १९ रनको ऐतिहासिक जित हात पारेको थियो ।

प्रकाशित:
2023/09/04, 7:45