डडेल्धुरा–डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको हगुल्टे लेकमा अटो रिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा सवार वीर बहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाइएको प्रहरी निरीक्षक नायकले बताए । अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको उनले बताए । दुई जना मृत र एक जना घाइते भेटिए पनि अटो रिक्सा भने अझै फेला नपरेको नायकले जानकारी दिए । दुर्घटनाको कारण खुलेको छैन ।
