एसियाली खेलकुद आजदेखि सुरु हुँदै

धनगढी– एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, ‘हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।’ चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनियाँ मिडियाका अनुसार सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउँदै लगातार निर्देशन पनि दिइरहेका छन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् । 

प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ र यसक्रममा चीनले बाँकी विश्वलाई भन्न चाहेको छ, ‘मुटुदेखि मुटुसम्म भविष्य’ का लागि । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ । चीन पुराना दुई संस्करणभन्दा बढी सफल र भव्य आयोजना गर्न चाहन्छ, समग्रमा १९ औं एसियाली खेलकुद ।

सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको हो । खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । चीनको कोभिड प्रकोपप्रति शून्य सहनशीलताका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको हो । चिनियाँ सरकारले त्यही महामारीका कारण लगाइरहेको सबै प्रकारको प्रतिबन्ध भने हटाइसकेको छ ।

प्रतियोगिता आयोजना कमिटीका प्रवक्ता चेन वेइछिङले भनेका छन्, ‘हामीले यस प्रतियोगिताको आयोजनाका क्रममा धेरै चुनौती सामना गरेका छौं, तर अहिले प्रतियोगिताको पूर्ण सफलताका लागि हामी पूर्णतः तयार छौं ।’ प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।हाङचउ छेउछाउका केही अन्य सहरले पनि केही खास–खास खेलको आयोजना गर्दै छ । सांघाईबाट बुलेट ट्रेनबाट एक घण्टाको दूरीमा रहेको हाङचउको जनसंख्या कुल १ करोड २० लाख रहेको छ र यहाँ प्राचीन बौद्ध मन्दिरहरू रहेका छन् । यसलाई पहाड र तालको सहर पनि भन्ने गरिन्छ । यहाँका बगैंचा पनि ऐतिहासिक महत्त्वका रहेका छन् । हाङचउको सबैभन्दा ठूलो परिचय यहाँको ‘वेस्ट लेक’ रहेको छ । यो अलिबाबाका ज्याक माको जन्मथलो पनि हो । प्रविधिमा निकै अगाडि रहेको हाङचउ सहर ड्राइभरविहीन बस, रोबट कुकुर र अनुहार चिन्ने प्रविधिका लागि पनि प्रसिद्ध छ ।

प्रकाशित:
2023/09/23, 8:21