मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

सुदूर प्रेस संवाददाता

धनगढी– १९ औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी जित दर्ता गरेको छ ।

नेपालले मंगोलियाविरुद्धको खेलमा कीर्तिमानै कीर्तिमान बनाएको छ । सर्वाधिक रन अन्तरको जित, उच्च टी–२० आई योगफलको कीर्तिमानसहित कुशल मल्लले सर्वाधिक छिटो शतक र दीपेन्द्रसिंह ऐरीले सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएको हो ।

चीनको हांग्जाउमा आज भएको खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

यसअघि चेक रिपब्लिकनले टर्कीलाई २ सय ५७ रनको अन्तरले पराजित गरेको थियो । नेपालले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर १ बलमा ४१ रनका अल आउट भयो । योसँगै नेपालले २ सय ७३ रनको विश्व कीर्तिमानी रन अन्तरको जित दर्ता गरेको हो ।

नेपाली खेलाडी हाबी भएपछि मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षित डेब्यु गर्न सकेन । मंगोलियाका लागि दावासुरेन जम्यासुरेनले मात्र सर्वाधिक १० रन जोड्न सके । नेपालको जितमा करण केसी, अभिनास बोहोरा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानसहित मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रनको योगफल तयार पारेको हो । यो टी–२० आई इतिहासकै उच्च योगफल हो । नेपाल टी–२० आईमा ३ सय रनभन्दा बढीको योगफल बनाउने पहिलो र एकमात्र टोली बनेको छ । यसअघि अफगानिस्तानले आयरल्यान्ड र चेक रिपब्लिकनले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए ।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । दीपेन्द्रले १० बलमा ८ छक्कासहित ५२ रनको अविजित योगदान दिए ।

कुशलले ३४ बलमै शतक पूरा गरेका थिए । योसँगै कुशल टी–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टी–२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेशविक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए । नेपालबाट पूर्व कप्तान पारस खड्काले सिंगापुरविरुद्ध सन् २०१९ मा ४९ बलमा अर्धशतक पूरा गरेका थिए ।

कप्तान राहित पौडेल ६१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो । १९ औँ ओभरको पहिलो बलमा रोहित आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले लगातार पाँच बलमा पाँच छक्का प्रहार गरे ।

२० औँ ओभरको दोस्रो बलमा पनि छक्का प्रहार गरेका उनले लगातार ६ छक्का हानेका थिए । दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गर्दै अर्को विश्व कीर्तिमान कायम गरे । उनले १० बलको समान गर्दा ८ छक्का प्रहार गरे । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।

समूह ‘ए’मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आगामी आइतबार माल्दिभ्सको सामना गर्नेछ । 

प्रकाशित:
2023/09/27, 10:52