बझाङका भूकम्पपीडितलाई घर बनाइदिने प्रधानमन्त्रीको आश्वासन

सुदूर प्रेस संवाददाता

बझाङ  भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत रक्षामन्त्री पूर्णबहार खड्कासहितको टोली लिएर शुक्रबार बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।

उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने आश्वासन दिए । 

प्रधानमन्त्रीलाई भूकम्प प्रभावितले आफ्ना समस्या सुनाएका थिए । समस्या सुनेपछि उनले समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन् ।

साथै, उनले जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग भूकम्पपछि बझाङको अवस्थाबारे जानकारी लिएका थिए ।

बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर असोज १६ गते ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको थियो । सो भूकम्पका कारण १ हजार हाराहारीमा निजी तथा सार्वजनिक घरहरु भत्काएको छ । सयौं घर चर्किएर बस्न नमिल्ने भएका छन् ।

प्रकाशित:
2023/10/06, 4:14