वर्षाले बझाङका भूकम्पपीडितको बिचल्ली

सुदूर प्रेस संवाददाता

बझाङ – वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो भने घाइते हुनेको संख्या २२ पुगेको छ। भूकम्पका कारण बझाङका धेरै घर चर्किएका र केही भत्किएका छन्। फेरि भूकम्प आउने डरले पीडितहरूले खेतबारी र चौरमा पाल टाँगेर रात बिताइरहेका छन्।

केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन्। बझाङमा शनिबार साँझ ६ बजेदेखि निरन्तर पानी परिरहेको छ।

वर्षाका कारण भूकम्पपीडित थप प्रभावित भएका छन्। सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिका लगायत अन्य स्थानीय तहका केही भूकम्प प्रभावित क्षेत्रमा वर्षाले कठ्याङ्ग्रिँदो चिसो छ।

जयपृथ्वी नगरपालिका–१ कैलासका रामराजबहादुर सिंहले भूकम्पले घर चर्किएपछि खुला आकाशमुनि बस्ने गरे पनि पानी परेर बिचल्ली भएको बताए। उनले भने, ‘साना केटाकेटी छन्। भित्र जाऊँ भूकम्पको डर‚ बाहिर जाऊँ पानी परेर बस्ने अवस्था नै छैन।’

यसैगरी थलारा गाउँपालिका–९ की पारू थापाले भनिन्, ‘त्रिपालभित्र पानी पसेर बस्ने नहुने बनाएको छ। बच्चालाई चिसो लाग्ने डर छ। भूकम्प र पानीले बिचल्ली पार्‍यो।’

जिल्ला प्रशासन कार्यालय बझाङले आजदेखि भूकम्प पीडितहरूलाई संकलन भएको राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय बझाङका कम्प्युटर अप्रेटर नन्द धामीले बताए।

प्रकाशित:
२०८० असोज २२, ०१:३०
SPA
KN
Priya Gahana Pasal