एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा चार जनाको उम्मेदवारी

सुदूर प्रेस संवाददाता

धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुई दिनसम्म सर्वसम्मत गराउने शीर्ष नेताहरुको प्रयास असफल भएपछि अन्तत: आज उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढेको हो ।

अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरत साउद र बचनबहादुर सिंहको उम्मेदवारी परेको छ ।

यस्तै एक उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जानकारी दिएको छ । हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महराले उम्मेदवारी दिएका छन् ।

एक सचिव पदका लागि रणबहादुर चन्द, राजेशकुमार खाती र रनतराज रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महिला उपसिचव पदका लागि भागरथी विष्ट तिमिल्सिना, कन्दकला राना र अर्चना गहतराजले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।

उपसचिव खुलाको एक पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अशोककुमार चन्द, नरबहादुर विक, राम दत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालको उम्मेदवारी परेको छ ।  

मध्याह्न साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय थपिएको थियो । यसअघि बिहान साढे ११ बजेसम्मको समय तोकिएको थियो । यस्तै दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ताको समयावधि तोकिएको छ । 

यसअनुसार आजै साँझ ५ बजेदेखि नयाँ नेतृत्वका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत पदम पालले जनाएका छन् । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ६७५ प्रतिनिधी सहभागी छन् । अधिवेशनले अध्यक्षसहित १ सय ५५ सदस्य नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित:
2023/10/10, 1:56