सहकारीका बचतकर्ताको ७७ करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भइसक्याे : प्रधानमन्त्री प्रचण्ड

सुदूर प्रेस संवाददाता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७७ करोड २४ लाख ४६ हजार चार सय ५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता गराएर भुक्तानी दिइसकिएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजकाे बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रचण्डले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार पाँच सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार सात सय ८० रुपैयाँको दायित्व यकिन गरी यसमध्ये अहिलेसम्म ७७ करोड रुपैयाँभन्दा धेरै बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको दाबी गर्नुभयो ।

सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाएको प्रचण्डको भनाइ छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले सरकारले सङ्घीयताको मर्म विपरीत बजेट नल्याएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद ठाकुर गैरेले तीन करोड रुपैयाँभन्दा कमका आयोजना नल्याउने घोषणा किन कार्यान्वयन गरिएन भनेर सोध्नुभएको थियो ।

सङ्घीय सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख रुपैयाँका समेत धेरै आयोजना राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले तीन करोड रुपैयाँसम्मका आयोजना प्रदेश र पालिकाबाट कार्यान्वयन गर्ने बताउनुभएको हो ।

प्रकाशित:
2024/06/21, 9:21