एमाले र माओवादी सँग मिल्नुभन्दा धनगढीका मेयर गोपी हमालसँग मिल्दा पार्टीलाई फाइदा हुने रास्वपाको निष्कर्ष

सुदूर प्रेस संवाददाता

धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टी दुर्घटनाउन्मुख अवस्थामा पुगेको निष्कर्षसहितको ‘समीक्षा प्रतिवेदन’ सभापति रवि लामिछानेलाई बुझाउनुभएको छ । महामन्त्री ढकालले एमाले र माओवादी केन्द्रसँग मिल्नुभन्दा स्वतन्त्र मेयर बालेन शाह, हर्क साम्पाङ र गोपी हमालसँग मिल्दा पार्टीलाई फाइदा हुनेसमेत उल्लेख गर्नुभएको छ । अहिलेको अवस्थामा रास्वपाको पक्षमा जनमत निकै खस्केको र केही कठोर निर्णय लिएर अघि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने निष्कर्ष महामन्त्री ढकालको छ ।

महासचिव ढकालले देशका ३८ जिल्लाको भ्रमण र स्थानीय पार्टी कार्यकर्तासँगको छलफलपछि उक्त प्रतिवेदन तयार पार्नुभएको हो ।

सिंहदरबारमा बुधबार प्रतिवेदन बुझाउने क्रममा ढकालले गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेसँग करिब तीन घण्टा छलफल गर्नुभएको थियो । प्रतिवेदन बुझाइसकेपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री ढकालले पार्टी बिरामी परेको र समयमै अस्पताल लगेर सर्जरी नगरेको अवस्थामा पार्टी सक्किने अवस्थामा पुग्ने दाबी गर्नुभयो । दुर्घटनाउन्मुख अवस्थामा रहेको पार्टी बचाउन केही कठिन निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री ढकालले त्यस्तै पार्टीले किन्तु परन्तु केही पनि नभनी प्रदेश संरचना खारेजीको मुद्दा उठाउनुपर्ने पनि बताउनुभयो । साथै उहाँले मन्त्रीहरुले पार्टी सरकारमा जानुको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभएको छ ।


पार्टी दुर्घटनाउन्मुख छ ः रास्वपाका महामन्त्रीको प्रतिवेदन

महामन्त्री ढकालले पार्टीको चुनाव चिह्न घण्टीमा कालो बादल मडारिएको कठोर टिप्पणी गर्नुभएको छ । आफ्नो महामन्त्री पदलाई दाउमा राखेर भए पनि आफूले सत्य बोल्ने आँट गरेको र यसको परिणाममा पार्टीले आफूलाई निष्काशनसम्म गर्न सक्नेसमेत महामन्त्री ढकालले उल्लेख गर्नुभएको छ ।

महामन्त्री ढकालले एक विज्ञप्ति जारी गर्दै आफूले बुझाएको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न सभापति लामिछानेसँग आग्रहसमेत गर्नुभएको छ । त्यसो नगरिए आफूमाथि अन्याय हुने कुरा उहाँले उल्लेख गर्नुभएको छ ।

महामन्त्री ढकालले इलामको उपनिर्वाचनपछि ३८ जिल्ला पुगेर स्थानीय, पार्टी कार्यकर्तासँगको छलफलपछि प्रतिवेदन तयार पार्नुभएको हो ।

प्रकाशित:
2024/06/27, 6:55
SPA
KN
Priya Gahana Pasal