धनगढी — कैलालीको गोदावरी नगरपालिका–४ वसन्तपुरकी नीतिका अवस्थी सुदूरपश्चिमका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने एक्लो विद्यार्थी भएकी छिन् । शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार नीतिका गोदावरीस्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएकी थिइन् । विद्यालय, जिल्ला र प्रदेशस्तरीय निबन्ध, वक्तृत्वकला, कवितालगायतका प्रतियोगितामा समेत उत्कृष्ट नतिजा प्राप्त गर्दै आएकी विद्यार्थी हुन् नीतिका । नीतिका बुवा टेकराज अवस्थी स्थानीय चण्डेश्वरी विद्यालयका शिक्षक हुन् । शिक्षक अवस्थीका अनुसार नीतिका सानैदेखि नै पढाइमा मेधावी थिइन् ।
निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टका अनुसार सुदूरपश्चिमका निजी विद्यालयबाट अन्य ३ जनाले पनि ४ जीपीए ल्याएका छन् । निर्देशनालयका अनुसार ७०६ जनाले ‘ए प्लस’, २ हजार ८२२ जनाले ‘ए’, ५ हजार ६०८ जनाले ‘बी प्लस’, ४ हजार ८२८ जनाले ‘बी’ र ५६७ जनाले ‘सी प्लस’ नजिता ल्याएका छन् ।
सुदूरपश्चिमबाट ५५ हजार १० जना परीक्षार्थी एसईईमा सहमागी रहेकोमा बझाङको नजिता प्राप्त भइनसकेको निर्देशक विष्टले बताए । प्राप्त नजिताअनुसार ३३ हजार ७४६ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।