सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता,बजेट अलपत्र

राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्री लाइ आग्रह
सुदूर प्रेस संवाददाता

धनगढी– नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ वहादुर सोडारीलाइ दिएको समर्थन आज फिर्ता लिएको छ । 

साथै सोडारी नेतृत्वको सरकारमा सहभागी तिन जना  मन्त्रीहरूले पनि राजीनामा दिनुभएको छ ।  आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन वातावरण तथा सहकारी मन्त्री वीर बहादुर थापा र आन्तरिक मामिला मन्त्री हीरा सार्कीले राजीनामा दिनुभएको हो ।  मुख्यमन्त्री सोडारी काठमाडौं भएका कारण मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र मुख्यमन्त्रीको सचिवालयमा राजीनामा पत्र र समर्थन फिर्ता लिएको पत्र बुझाइएको छ । यसैबिच एमालेले सरकार अब अल्पमतमा परिसकेकोले राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्री लाइ आग्रह गरेको छ । नयाँ सरकार गठनका लागी छलफल अघि बढिसकेको र छिट्टै सरकार गठन हुने एमालेले जनाएको छ । 

दीर्घ सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पनि पास नगर्दै एमालेले राजीनामा दिएपछि बजेट अलपत्र परेको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले राजीनामा दिँदै सरकार अल्पमतमा परिसकेकोले अब बजेट पारित हुन नसक्ने भन्दै अब अध्यादेश मार्फत नयाँ बजेट ल्याइने बताउनुभयो । यस अघि रातो किताब नआउँदै बजेटको ई कपी सार्वजनिक भएको विषयमा छानबिन समिति गठन हुने उहाँको भनाइ छ । 

एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ समूह र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ६ गते समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।  ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउनका लागी २७ जनाको समर्थन चाहिन्छ । नयाँ वनेको गठबन्धनमा कांग्रेशका १८ र एमालेका ११ गरी २९ जना भएकाले सहजै सरकार बन्ने छ । सुदूरपश्चिममा कांग्रेश नेतृत्वमा सरकार बन्ने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ । 

 

प्रकाशित:
2024/07/04, 7:11
SPA
KN
Priya Gahana Pasal