कांग्रेस र एमालेद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा माग

विश्वासको मत परीक्षण गर्ने तयारीमा सोडारी
सुदूर प्रेस संवाददाता

धनगढी — सुदूरपश्चिममा कांग्रेस र एमालेले सयूक्त रुपमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् । आइतबार दुबै दलले सयुक्त हस्ताक्षरित वक्तव्यमार्फत मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलद्वारा हस्ताक्षरित वक्तव्यमा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको, सोडारी सरकार अल्पमतमा परिसकेको र अब सरकारमा बसिरहन मुख्यमन्त्रीलाई नैतिक आधार नभएकाले भन्दै मार्ग प्रशस्त गर्न भनेका छन् । साथै उनीहरुले बहुमत गुमाइसकेका मुख्यमन्त्रीले दैनिक कामकाजबाहेक कुनै पनि काम नगर्न आग्रह गरेका छन् । 

सरकारको मुख्य साझेदार दल एमालेले सरकारबाट समर्थन फिर्ता र मन्त्रीहरु बाहिरिएपछि एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका हुन् । तर, एमाले र कांग्रेसले राजीनामा मागे पनि आफूले प्रदेशसभामा विश्वासको मत परीक्षण गर्ने बताएका छन् । एमालेले बिहीबार समर्थन फिर्ता लिनुका साथै आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा गराएको थियो ।

सोडारी नेतृत्वको प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री थिए । सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, वीरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिला मन्त्री थिए । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन् । तर उनले राजीनामा नदिने र प्रदेशसभामा विश्वासको मत परीक्षण गर्ने तयारी रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीले बताएका छन् ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए । एमालेका सांसदहरु बाहिरिने बित्तिकै मुख्यमन्त्री अल्पमतमा परेका हुन् । सोडारी सरकारमा माओवादी केन्द्रका ३, नागरिक उन्मुक्तिका २ र एकीकृत समाजवादीबाट एक जना मन्त्री कायम छन् ।

प्रकाशित:
2024/07/08, 8:01