रवि लामिछानेमाथि छानबिन गर्न सहकारी पीडितकाे माग

सुदूर प्रेस संवाददाता

काठमाण्डाै – सहकारी पीडितहरूले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिकाे आजकाे बैठकमा सहकारी पीडितहरूले सहारा बहुउद्देश्यीय सहकारीको एक अर्ब रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि पनि छानबिन आवश्यक रहेका बताएका हुन् ।

समितिको छलफलमा सहारा बहुउद्देश्यीय सहकारी पीडित शालिग्राम दुवाडीले सहारा बचतको रकम गोर्खा मिडिया नेटवर्कलगायत विभिन्न कम्पनीमा ५१ करोड रुपैयाँ रकम गएको बताउनुभयो । उहाँले पीडितहरूले ती कम्पनीहरूलाई मुद्दा हाल्दा चितवन प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको नाम देखेपछि रोकेको बताउनुभयो ।

समितिमा आएका धेरैजसो सहकारी पीडितहरूले समितिले निष्पक्ष रूपमा छानबिन गरी आफूहरूलाई न्याय दिनुपर्ने माग राखेका छन् । शक्ति र राजनीतिक आडमा बसेका सहकारी सञ्चालकहरूबाट बचतकर्ताको रकम तत्काल फिर्ता गराउनुपर्ने पीडितहरूको माग छ ।

यसैबीच सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताउनुभएको छ । सहकारी पीडितहरूसँगको छलफलमा बौल्दै सभापति थापाले जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताउनुभएको हो ।

सभापित थापाले विदेशमा भएका सहकारी ठगहरूलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने उल्लेख गर्नुभयाे । सरकारले र संसद्ले गर्ने काम फरक हुने भन्दै उहाँले सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गर्ने विश्वास दिलाउनुभयाे ।

प्रकाशित:
2024/07/11, 5:34
SPA
KN
Priya Gahana Pasal