आज चार वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

सुदूरपश्चिम प्रदेशका एक–दुई  ठाउँमा ठूलो पानी पर्ने
सुदूर प्रेस संवाददाता

धनगढी–  देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा मधेस प्रदेशका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरु तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार कोशी, बाग्मती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई  ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बाग्मती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्न सक्ने जनाएको छ । महशाखाका अनुसार कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको पनि जलसतह बढ्ने सम्भावना छ ।

सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा, रुपन्देही, कपिलवस्तु, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने नदीमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित:
2024/07/20, 8:31