अब धनगढीमा नगर बस, ६ वटा बस सञ्चालन गरींदै

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याउने भएको छ।

दुई करोड ४८ लाखमा ३२ सिट भएका ६ वटा बस खरिद गरेर सञ्चालनको तयारी गरेको हो। 

नगर बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई ३० दिने बोलपत्र समेत आह्वान गरेको छ।

केही दिन अघि सूचना जारी गर्दै उपमहानगरपालिकाले ६ वटा बसलाई १० वर्षसम्मका लागि बस सेवा सञ्चालन गर्न ठेक्का लगाइने जनाएको थियो।

जारी सूचनामा मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ। प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ।

पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम, बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ। बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रूटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ।

नगर बसमा (लुनाजिपिएस) र सिसिटिभी क्यामरा पनि जडान गरिएको छ। 

कैलालीको कैलारी गाउँपालिकादेखि गोदावरी नगरपालिकासम्म बसहरू सञ्चालनका लागि रूट तयार गर्ने काम भइरहेको छ। 

(लुना जिपिएस) बाट कुन बस कहाँ पुग्यो? र आफू भएको ठाउँसम्म कतिबेला पुग्ने छ भन्ने जानकारी मोबाइल एपबाट हेर्न सकिने छ। यसरी बसका लागि पर्खिंदा सो जिपिएसबाट समयको बचत हुने छ। यस्तै आमसर्वसाधारण र अन्य सरसामानको सुरक्षाका लागि बसभित्र सिसिटिभी क्यामेरा जडान गरिएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जानकारी दिए।

उनका अनुसार उपमहानगरपालिकाका १९, १८, १७, १६, १४ र ११ नम्बर वडाहरूमा समयमै गाडी चल्ने अवस्था थिएन।

यी वडाहरूमा सर्वसाधारणलाई सजिलो होस् भन्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याउने तयारी भएको मेयर हमालले बताए।

‘धनगढी बजार नजिक रहेका स्कुल तथा क्याम्पसमा पढ्ने विद्यार्थीहरूलाई सही समयमा आफ्नो विद्यालय पुग्न सहयोग मिल्ने र ग्रामिण क्षेत्रका कृषकहरूलाई कृषी उपज बसबाट बजारसम्म ल्याउन सहज हुने अपेक्षा हामीले राखेका छौं, यी बस वातावरण मैत्री सुविधा सम्पन्न छन्,’ नगरप्रमुख हमालले भने।

प्रकाशित:
2024/07/22, 7:42