सत्ता र प्रतिपक्षको इगोले प्रदेश सरकार बन्धक,अर्थतन्त्र ठप्प

प्रदेशसभाको बैठक कार्यसूचीविहीन भएपछि स्थगित
सुदूर प्रेस संवाददाता

धनगढी — नेपाली कांग्रेस र नेकपा एमालेको माग अनुरूप प्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभाको बैठक कार्यसूचीविहीन भएपछि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेश सभामुख भीमबहादुर भण्डारीले मंगलबार बैठक सुरु हुनासाथ प्रदेश प्रमुख नजिर मियाँद्वारा प्रेषित पत्र वाचन गरेलगत्तै अर्को सूचना नभएसम्मका लागि भनेर बैठक स्थगित गरिएको हो । विशेष अधिवेशनको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रमा छलफल गर्नुपर्ने विषय उल्लेख नभएको भन्दै मंगलबारको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने कार्यसूची मात्रै राखिएको हो । सोही अनुसार सभामुख भण्डारीले पत्र वाचन गरेर बैठक स्थगित गरेका हुन् । 

विशेष अधिवेशनको बैठकमा छलफल गर्नुपर्ने विषय उल्लेख नभएको भन्दै सोमबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई विषय खुलाएर पठाउन पत्राचार गर्ने निर्णय गरेको थियो ।

साउन ३ मा बजेट अधिवेशन अन्त्य भएपछि प्रतिपक्षी दलहरू कांग्रेस र एमालेका २१ जना सांसदले विपद्, राहत लगायतका विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै साउन ४ मा प्रदेश प्रमुख मियाँसमक्ष संविधानको धारा १८३ (३) बमोजिम अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए, तर प्रदेश प्रमुखले प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा विषय उल्लेख नभएको भन्दै बैठकको थप कार्यसूची तय हुन नसकेको सभामुख भण्डारीले बताए ।

सोमबार सभामुखको कार्यकक्षमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकमा विशेष अधिवेशन मागकर्ता दलका सांसदहरूले नै प्रदेश प्रमुखको कार्यालयलाई विषय उल्लेख गरेर पत्र पठाउन पत्राचार गर्ने निर्णयमा सहमत भएपछि प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गर्ने निर्णय गरिएको थियो । 

कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, सांसद दिवानसिंह विष्ट, एमालेका सुरेन्द्रबहादुर पाल, माओवादीका मानबहादुर धामी, नागरिक उन्मुक्तिकी इन्दिरा गिरी र स्वतन्त्र सांसद ताराप्रसाद जोशी उपस्थित भएर सर्वसम्मत निर्णय गरेका थिए । बैठकमा एकीकृत समाजवादी र राप्रपाका सांसदहरू भने उपस्थित थिएनन् ।

‘विशेष अधिवेशन माग गर्ने दलका सांसदहरूले नै कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले विशेष अधिवेशनको एजेण्डा उल्लेख नगरेको भन्दै पत्राचार गर्ने निर्णय गर्नु कच्चा काम थियो,’ एक सांसदले भने, ‘उहाँहरू आफैंले माग गरेको सन्दर्भ बैठकमा स्थापित नगरेर उल्टै प्रदेश प्रमुखले आफ्नो स्वच्छाले अधिवेशन आह्वान गरेजस्तो अर्थ लाग्ने कच्चा काम भयो । यो राम्रो कुरा होइन ।’

अधिवेशन बैठकमा छलफल गर्नुपर्ने ऐजेण्डा खुलाएर पठाइदिन आग्रह गर्दै मंगलबार प्रदेश सभा सचिवालयबाट पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बताए । ‘प्रदेश प्रमुखकै निर्देशानुसार पत्रको भाषा तयार गरी प्रदेश सभालाई पठाइएको हो,’ उनले भने, ‘अब प्रदेश प्रमुख काठमाडौंबाट फेर्केपछि अर्को पत्र पठाउने नपठाउनेबारे परामर्श गर्छौं ।’

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेशबाट बजेट ल्याउन गरिरहेको प्रयासलाई रोक्न विपक्षी दल कांग्रेस र एमाले सक्रिय छन् । प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेको र अधिवेशन जारी रहेका बेला सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने विपक्षी दलको जिकिर छ । त्यही कारण उनीहरूले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका हुन् । तर सरकार पक्ष भने बैठक सञ्चालन हुन नसकोस् भन्ने रणनीतिमा छ ।

प्रकाशित:
2024/07/24, 6:32