सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था 'खतरामुक्त'

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।' बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पताल उच्च स्रोतकाअनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ । तर उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् । उनको मेरुदण्डको 'एल टु' भाँचिएको देखिएको छ । 'अनुहारमा गहिरो चोट लागेको छ । तर अहिलेसम्म अवस्था खतरामुक्त छ' अस्पताल स्रोतले भन्यो,'उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।'

प्रकाशित:
2024/07/24, 4:30