धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । कोशी, मधेस र बागमती प्रदेश लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।
मधेस प्रदेशको बारा, पर्सा आसपास तथा बागमती प्रदेशको मकवानपुर, सिन्धुली आसपास मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशको झापा, सोलुखुम्बु आसपास हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।