सुदूरपश्चिम प्रदेश सभामा टर्चलाइट बालेर सरकारको खोजी

सुदूर प्रेस संवाददाता

धनगढी –सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट एक जना पनि मन्त्री सहभागी नभएर बैठक स्थगित भएपछि विपक्षी प्रदेशसभा सदस्यहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।

सोमबार दिउँसो आह्वान गरिएको बैठकमा सरकारका तर्फबाट एकजना मन्त्री पनि सहभागी नभएपछि सभामुख भीम वहादुर भण्डारीले बैठक स्थगित गर्नुभयो । लगत्तै प्रदेशसभा बाहिर आएर प्रदेशसभा सदस्यहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् । 

 यस अघिको बैठकमा सरकारको निर्देशन विपरीत प्रदेशसभामा सहभागी भएको भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज कसैलाई पनि सभामा पठाउनुभएन । 

प्रतिपक्षमा रहेका दल नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति रेशम पक्षका प्रदेश सभा सदस्यहले मोबाइलको टर्च लाइट बालेर सरकार खोज्दै चर्को आलोचना गरे । अल्पमतमा परी सक्दा पनि राजीनामा नदिएर सरकार र सदनलाई बन्धक बनाएको विपक्षीको आरोप छ ।

असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । बजेट समेत पारित नभएपछि सुदूरपश्चिममा साउन १ गतेदेखि बजेट शून्यताको अवस्था सृजना भएको छ । तर मुख्यमन्त्री सोडारीले राजीनामा दिन ढिलाइ गरिरहेका छन् । 

संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्री सोडारीले बताएका छन् । उनीसँग बहुमत नभएकाले १८ गते भित्र सरकार छोड्नु पर्ने छ । ५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ गरी २९ जना प्रदेशसभा सदस्य भएकाले सहजै सरकार बन्ने छ ।

प्रकाशित:
2024/07/30, 7:07
SPA
KN
Priya Gahana Pasal