सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

मुख्यमन्त्रीको टुङ्गो लगाउन २ बजे कांग्रेश संसदीय दलको बैठक बस्दै
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन ।  विश्वासको मत लिने प्रयोजनका लागी  आज अपराह्न  ४ बजे प्रदेश सभा बैठक बोलाएको छ ।  नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह ) र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ५ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका हुन् । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए । सोडारीले प्रदेशसभा वाट विश्वासको मत भने पाउने अवस्था भने छैन । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिनका लागी २७ जनाको समर्थन चाहिन्छ । तर उनी सँग आफ्नो दल एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० गरी १६ जना मात्रै छन् ।  नयाँ गठबन्धनमा रहेका कांग्रेश सँग १८ र एमाले सँग ११ गरी २९ जना प्रदेशसभा सदस्य रहेकाले सहजै सरकार बन्ने अवस्था छ । एमालेले बजेट पास नगरी समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट पारित भएको छैन ।   साउन १ गते देखि प्रदेश बजेट होलिडे को अवस्थामा छ । सत्ता र प्रतिपक्षबिचको सत्ता स्वार्थ र इगोले  प्रदेश सभाबाट बजेटसम्बन्धी ऐनहरू पारित नहुँदा सरकारले प्रदेश मातहतका कार्यालयमा राजस्व उठन सकेको छैन ।  अब नयाँ आउने सरकारले अध्यादेश मार्फत बजेट ल्याए पछि मात्रै प्रदेशमा बजेट शून्यताको अवस्था अन्त्य हुने छ  । त्यस पछि मात्रै प्रदेशमा राजस्व उठाउन र खर्च गर्न बाटो खुल्ने छ ।  केन्द्रिय सहमति अनुसार सुदूरपश्चिममा कांग्रेशको नेतृत्वमा सरकार गठन हुने छ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागी कांग्रेशका प्रदेशसभा सदस्यहरु बिच दौडधुप चलेको छ । कांग्रेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल वहादुर शाह,पूर्व मन्त्री प्रकाश वहादुर देउवा र प्रदेश सभा सदस्य वहादुर सिंह थापा मुख्यमन्त्रीको दौडमा छन् । तिनै जनाले कांग्रेश सभापति शेरबहादुर देउवालाई भेटपनि मुख्यमन्त्रीको टुङ्गो अहिले सम्म लागेको छैन । स्रोतका अनुसार सभापति देउवाका भतिजा प्रकाशको सम्भावना वढी छ । यद्यपि आज दिउँसो बस्ने कांग्रेश संसदीय दलको बैठकले यसको टुङ्गो लगाउने छ ।  दलहरूले आग्रह गरे नयाँ सरकार गठनका लागी प्रदेश प्रमुख वाट आजै आह्वान हुने छ । 

प्रकाशित:
2024/08/02, 8:36
SPA
KN
Priya Gahana Pasal