१० महिना पुग्यो, सरकारले न विपिन जोशीलाई फिर्ता ल्याउन सक्यो, न अवस्था पत्ता लगाउन

पिडामा रातदिन आशु बगाउँदै परिवार
सुदूर प्रेस संवाददाता

धनगढी– एक पटक कल्पना मात्रै गर्नुस् त, यदि तपाईँ हाम्रो घरपरिवारका सदस्य केही दिन सम्पर्कविहीन हुँदा कति छटपटी हुन्छ । तर कञ्चनपुरका विपिन जोशी त १० महिनादेखि सम्पर्कविहीन हुनुहुन्छ । उहाँको परिवारजनलाई कति धेरै छटपटी भएको होला ? सोच्दा मात्रै पनि मन भक्कानिएर आउँछ  । विपिनको अवस्था पत्ता लगाई स्वदेश फिर्ता गरिदिन विपिनको परिवारजनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग हारगुहार गरिरहेको पनि १० महिना पुगेको छ । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरू 'सिकाइसँगै कमाई' कार्यक्रमका लागि गत वर्ष भदौ अन्तिम साता इजरायल गएका थिए । ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग-अलग कृषि फार्ममा पठाइएको थियो । उहाँहरूमध्ये १७ जना नेपाली विद्यार्थी समेत रहेको फार्ममा गत वर्ष अक्टोबर ७ तारिख अर्थात् असोज २० गते बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेको थियो ।

उक्त आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाए । त्यही समूहबाट नेपाली विद्यार्थी कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिई बन्धक बनाएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) को दाबी छ । विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको इजरायली सरकारी अधिकारीहरूले बताए पनि अहिलेसम्म उहाँको अवस्था भने अज्ञात छ ।

सरकारी अधिकारीहरूसँग  भेट्दा होस् वा सञ्चारमाध्यममा समाचार हेर्दा, सुन्दा विपिनलाई हमास समूहले बन्धक बनाएको र उहाँ त्यो ठाउँमा सुरक्षित रहेको अपुष्ट खबरले परिवारजनलाई आशावादी त बनाइरहन्छ । तर आफैँले जन्माएको सन्तान सात समुद्रपारि युद्धग्रस्त क्षेत्रमा दश दश महिनासम्म अज्ञात रहँदा परिवारजनको मनमा चैन हुँदैन ।

विपिनको परिवारजनका लागि यी १० महिना हारगुहार र बाटो पर्खाइमै बितेका छन् । विपिन छिट्टै घर फर्किउन् भनेर परिवारजन रातदिन प्रार्थना र हारगुहार गरिरहेका छन् । विपिनकी बहिनी पुष्पाले त आफ्ना दाजुको यादमा सिरानीमाथि विपिनले प्रयोग गर्ने सरसामानदेखि उहाँकै यादमा बनाइएको फ्रेम  झुन्ड्याएरै राख्नु भएको छ । 

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले पदभार सम्हालेको पहिलो दिनको निर्णय होस् वा केही दिन अघि विपिनका बुवा महानन्द जोशी सहितका परिवारजनसँग  भेट्दा, उहाँले विपिनको यथाशीघ्र उद्धार गरी स्वदेश फिर्ता ल्याउन पहल गर्ने आश्वासन दिनुभएको छ ।

विपिनको खोजीकार्य गरी सकुशल उद्धारका लागि उहाँको परिवारजनले कसलाई पो गुहारेनन् । नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरूदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय निकायसँग  समेत अनुनय विनय गरिसकेका छन् । 

प्रकाशित:
2024/08/05, 8:52
SPA
KN
Priya Gahana Pasal