विपिन जोशीको रिहाइको माग गर्दै हस्ताक्षर संकलन

सुदूर प्रेस संवाददाता

कञ्चनपुर– ३१५ दिनदेखि प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले बन्धक बनाइ राखेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको सकुशल रिहाइको माग गर्दै सुदूरपश्चिम विश्वबिद्यालयको केन्द्रिय क्याम्पसका विद्यार्थीहरुले शुक्रबारदेखि बृहत हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । अनेरास्ववियुको अगुवाइमा जोशीको रिहाइका लागि कुटनीतिक पहल गर्न सरकारालाइ दबाव दिने उद्देश्यले सुदूरपश्चिमका ९ वटै जिल्लाका क्याम्पसहरुमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको आयोजक विद्यार्थी संगठनले जनाएको छ । 

सुदूरुपश्चिम प्रदेशका ९ वटै जिल्लाका बिभिन्न क्याम्पसहरुबाट हस्ताक्षर संकलन गरी ज्ञापन पत्रसहित प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको अनेरास्ववियु सुदूरपश्चिम विद्यार्थी इन्चार्ज महेश पन्तले बताए ।

‘विपिन जोशी करिव १ बर्षदेखि प्यालेस्टाइनी बिद्रोही समूह हमासद्वारा बन्धक बनाइएका छन्’ पन्तले भने, ‘उनको रिहाइका लागि प्रभावकारी पहलका लागि सरकारलाइ दबाव दिन पहिलो चरणका महेन्द्रनगरबाट बृहत हस्ताक्षर अभियान सुरु भएको हो ।’

हमासद्वारा गतबर्ष असोज २० गते (अक्टुवर ७ ) का दिन बन्धक बनाइएका विपिन सुदूरपश्चिम विश्वविद्यालयको कैलाली टिकापुरस्थित कृषि क्याम्पसमा बिएस्सी एजि अध्ययनरत विद्यार्थी हुन । हस्ताक्षर संकलन अभियान कार्यक्रममा विपिनका बुवा महानन्द जोशीले छोराको रिहाइका लागि सरकारले छिमेकी राष्ट्रहरुसंगै खाडी मुलुकसंग निरन्तर कुटनैतिक पहल जारी राख्नु पर्ने बताए ।

‘आज भोलि भन्दा भन्दै वर्षदिन बितिसक्यो, पुरै परिवार बिचल्लीमा परेको छ,’ उनले भने, ‘सरकारबाट पहल त भइरहेकै छ तर अरु ठूला देशहरुलाइ पनि हमासलाइ दवाव दिन अन्तर्राष्ट्रिय कुटनैतिक माध्यमबाट पनि विपिनको रिहाइका लागि सरकारले निरन्तर पहल गरोस् भन्ने माग गर्दछु ।’

अनेरास्ववियका केन्द्रिय सदस्य पुश्कर भट्टले विपिनको रिहाइका लागि पहिलो चरणमा हस्ताक्षर अभियान सुरु गरिएको र उनको सकुशल रिहाइ नभएसम्म निरन्तर दबावमुलक कार्यक्रम सञ्चालन गरिने बताए । हस्ताक्षर संकलन कार्यक्रममा अनेरास्ववियु कञ्चनपुरका जिल्ला अध्यक्ष अमर धामी लगायतका विद्यार्थी नेताहरु सहभागी थिए ।

प्रकाशित:
2024/08/17, 9:07
SPA
KN
Priya Gahana Pasal