सुदूरपश्चिम प्रदेशमा भारी वर्षा,उच्च सतर्कता अपनाउन आग्रह

सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिमका सबै ठाउमा वर्षा भइरहेको छ । कैलाली जिल्लाको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। कुलरिया, कान्द्रा, घुराहा लगायत मोहनाका अन्य सहायक नदीहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरीएको छ  । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यसैगरी आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । 

प्रकाशित:
2024/08/22, 7:56
SPA
KN
Priya Gahana Pasal