बाढीबाट कैलालीमा ८ सयभन्दा बढी परिवार विस्थापित

सुदूर प्रेस संवाददाता

कैलाली– नदीहरुमा जलस्तर बढेर बाढी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिकाका अधिकांश ठाउँ बुधबार रातिदेखि जलमग्न छन् । बाढीले भजनी नगरपालिका, कैलारी गाउँपालिका, र घोडाघोडी नगरपालिकाका ८ सय बढी परिवार विस्थापित भएका छन् ।  

करिब ५ हजार परिवार डुबानबाट प्रभावित भएका छन् । भजनी र कैलारीका बासिन्दाको जनजीवन अत्यधिक प्रभावित छ । वर्षाका कारण भजनीको ७५ प्रतिशत बढी भूभाग जलमग्न छ । सबैभन्दा बढी भजनी नगरपालिकामा ४ हजार १ सय २७ प्रभावित परिवारमध्ये साढे सात सय परिवार विस्थापित अवस्थामा छन् ।

नगरपालिकाले बिहीबार तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार वडा १ मा ८ परिवार, ४ मा ४ सय परिवार, ५ मा २ सय ५० परिवार, ६ मा १ परिवार, ७ मा ३१ परिवार र वडा ९ मा ६० परिवार विस्थापित भएका छन् । भजनीमा रहेका ५५ वटा विद्यालयमध्ये बिहीबार कुनै पनि विद्यालय सञ्चालन हुन सकेनन् । ९८ वटा घरमा आंशिक क्षति भएको विपद् स्रोतव्यक्ति विष्णुप्रसाद न्यौपानेले बताए । विस्थापितहरु हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर, नगरपालिकाले विभिन्न वडामा निर्माण गरेका आपतकालीन आवास गृह, विद्यालय भवनमा आश्रय लिएर बसेका छन् । कान्द्रा, काँडा, पथरिया र मोहना नदीको बाढी गाउँ पसेपछि भजनीका बासिन्दा डुबानमा परेका हुन् । 

यस्तै, कटौनी नदीको बाढी गाउँ पसेपछि कैलारी गाउँपालिका–५ का पुरानो मनिकापुर, पुरानो बैसपुर, बंगालीपुर, सपनाश्री गाउँका ६७ परिवार विस्थापित छन् । यस्तै, शिवगंगा नदीको बाढीबाट घोडाघोडी नगरपालिकाका–५ र ९ का २२ परिवारलाई विस्थापनको अवस्थामा पुर्‍याएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । सुरक्षा निकायका अनुसार कैलारी–५ का विस्थापित ६७ परिवार गाउँपालिका भवन, वडा कार्यालय भवन र स्थानीय मनकामना आधारभूत विद्यालयको भवनमा आश्रय लिएर बसेका छन् । भजनी नगरपालिकाको लालबोझी, हिम्मतपुर र चर्चाका विस्थापितहरु हुलाकी सडक छेउछाउमा त्रिपाल टाँगेर बसेका छन् । डुबानमा परेर घर भत्किएपछि कैलारी–३ खोनपुरका महानु चौधरीको परिवार बिचल्लीमा छ ।

‘खाद्यान्न डुब्यो, छाक टार्न समस्या भएपछि छिमेकीले खाना पकाएर बिहीबार विहानको छाक टरेको छु,’ चौधरीले भने । यस्तै, कैलारी–५ कै मनिकापुरका बलिराम चौधरीले घर डुबानमा परेपछि छिमेकीको घरको छतमा बस्नु परेको बताए । विस्थापित भएर हुलाकी सडक किनारमा आएका परिवारले आफ्नै त्रिपाल र खानेकुराको जोहो गरेर छाक टार्ने तयारी गरिरहेका छन् । अधिकांशले जोगिएको अन्नपात, पशुवस्तु उनीहरुले आफैसँग ल्याएका छन् । घोडाघोडी–५ र ९ का विस्थापित भने डुबान घटेपछि बिहीबार साँझ घर फर्केको कैलालीका प्रजिअ धर्मेन्द्रकुमार मिश्रले बताए ।

बाढीमा फसेका कैलारीका विभिन्न गाउँ १२ जना र गौरीगंगा नगरपालिकाका ४ जनाको उद्धार गरिएको प्रजिअ मिश्रले बताए । त्यसक्रममा कैलारी ५ बयसपुरका रामकृष्ण चौधरी र उनकी श्रीमती लोकमाया चौधरीलाई आफ्नो घरको सामान ओसार्ने क्रममा बुधबार बाढीले बगाएको थियो । कटैनी नदीको बहाब गाउँमा पसेपछि आएको बाढीमा बगेर करिब ५ सय मिटर तल रुखमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले उद्दार गरेको थियो । विस्थापितलाई तत्काल खानेकुरा, खानेपानी र शौचालयको समस्या छ ।

भजनी नगरपालिकाका प्रवक्ता बिक्रम चौधरीले विस्थापितका लागि तत्काल खानेपानी अत्यावश्यक भएकोले डुंगा चलाएरै उनीहरु बसेका विभिन्न स्थानमा ६ सय पेटी खानेपानी पठाएको बताए । भजनी नगरप्रमुख केबल चौधरीले खानाका लागि सयुक्त मेस चलाउने विषयमा छलफल भइरहेको बताए । साथै, सुत्केरी तथा गर्भवतीका लागि तत्काल डिगनिटी किट आवश्यक रहेको नगरपालिकाले जनाएको छ । यता, प्रजिअ मिश्रले पनि २ सय कार्टुन खानेपानी जिल्लाबाट पठाउन लागिएको बताए ।

प्रकाशित:
2024/08/23, 9:23
SPA
KN
Priya Gahana Pasal