धनगढी–पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. आरजु राणाको धनगढीस्थित निजी निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । धनगढी उपमहानगरपालिका–४ स्थित देउवा निवास अगाडि शनिवार राति करिब १ बजे झोलामा शङ्कास्पद वस्तु फेला परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरीले सेनालाई खबर गरेको थियो । सेनाको डिस्पोजल टोलीले बिहान उक्त संकास्पद वस्तु निष्क्रिय पारेको हो । सेनाका अनुसार झोला भित्र केट्ली र त्यसभित्र भित्र तार कचौरा र माटो भेटिएको थियो । उक्त निवासमा देउवाका भतिजा तथा प्रदेशसभा सदस्य प्रकाश देउवा बस्दै आएका छन् । त्रास फैलाउने उद्देश्यले उक्त वस्तु राखिएको हुन सक्ने कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । आसपासमा रहेका सिसिटिभीको फुटेज वाट संकास्पद वस्तु राख्ने मानिसको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।