कैलालीका दुई नेपाली मजदुर अनाहकमा १० दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा

पक्राउको कारण नै नखुलाई प्रतिव्यक्ति एक लाख भारु जरिवाना माग,नतिरे मुद्दा लगाउने धम्की
सुदूर प्रेस संवाददाता

धनगढी– भारत उत्तर प्रदेशको चन्दनचौकीमा काम गर्न गएका दुई नेपाली मजदुर अनाहकमा १० दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा छन् । कैलालीको कैलारी गाउँपालिका– ३, शिवरत्नपुरका ६६ वर्षीय सलिफा डगौरा चौधरी र २८ वर्षीय सोनु गिरीलाई भारतीय वन विभागले पक्राउ गरी हिरासतमा राखेको हो ।

दुवैजना १७ भदौमा गाउँबाट नजिकै रहेको चन्दनचौकीस्थित एक व्यापारी (भक्ता भनिने)को मिठाई पसलको छानामा टिन (जस्तापाता) लगाउन गएका थिए । दिनको पाँच सय रुपैयाँ ज्याला दिने भनेर टिन लगाउनका लागि भक्ताले दुवैजनालाई बोलाएर लगेका थिए । उनीहरू पक्राउ परेको खबरपछि परिवारका सदस्य र केही स्थानीय चन्दनचौकीस्थित वन विभागको कार्यालय पुगेका थिए । तर, वन कर्मचारीले पक्राउ गर्नुको कारणबारे केही नबताएको सोनुकी श्रीमती पुनम चौधरीले बताइन् ।  

‘किन पक्राउ गरेको भनेर वनका कर्मचारीलाई सोध्दा कारण बताएनन् । पैसा दिएर छुटाएर लैजाऊ भने, अरू कुरै गर्न मानेनन्,’ पुनमले भनिन्, ‘पक्राउ परेकालाई भेट्नसमेत दिएनन् ।’ उनका अनुसार सुरुमा एकजनाको दुई लाख रुपैयाँ भारु जरिवाना मागेका थिए । पछि एक–एक लाख रुपैयाँ बुझाउन भने पनि आफूहरूले रकम तिर्न नसकेको उनले बताइन् । ‘हामी मजदुरी गरेर गुजारा गर्ने मान्छे, त्यत्रो रकम कहाँबाट तिर्नु,’ उनले भनिन् ।

सलिफाकी बुहारी टीकाका अनुसार भारतीय वनरक्षक शिवचरण रानाले पैसा मागेका हुन् । ‘एक–एक लाख मागेका थिए, त्यत्रो पैसा दिन सकेनौँ, अहिले दुवैजनालाई लखिमपुर लगेको सुनिएको छ,’ टीकाले भनिन्, ‘वन कार्यालयमा हामीलाई जान पनि दिँदैनन् ।’ 

चन्दनचौकी भारतीय दुधुवा निकुञ्जको क्षेत्रमा पर्छ । वन क्षेत्रमा पर्ने ठाउँमा घर बनाउन आएको भन्दै पक्राउ गरेको चन्दनचौकीका स्थानीयबाट बुझिएको शिवरत्नपुरका भल्मन्सा दहिराम चौधरीले बताए । मजदुरीमा काम गर्न गएका मान्छेलाई काठसहित समातेको भनेर फसाउन खोजिएको उनले बताए । ‘पक्राउ गर्नुको कारण भनेका छैनन्, तर काठसहित समातेको भनेर मुद्दा बनाएको भन्ने सुनिएको छ,’ चौधरीले भने । भारतीय वनकर्मीले काठ तथा वन्यजन्तु तस्करी गरेकोलगायत आरोप लगाएर सीमावर्ती क्षेत्रमा नेपालीलाई पटक–पटक दु:ख दिने गरेको उनको भनाइ छ । 

कैलालीमा नेपाल–भारत सिमानामा मोहना नदी बग्छ । कैलारीमा भने शिवरत्नपुर, मोहनपुर र हौसलपुर मोहनापारि पर्छन् । स्थानीयका अनुसार शिवरत्नपुरमा ७५ परिवारको बसोवास छ । कैलारी– ३ का वडाध्यक्ष सन्तराम चौधरीले काम गर्न गएका नेपाली पक्राउ परेकोबारे गाउँपालिकामै रहेको सशस्त्र प्रहरीको प्रस्तावित गुल्मलाई जानकारी गराइएको बताए । ‘सशस्त्रलाई जानकारी गराएका थियौँ, उहाँहरूले हाम्रो कार्यक्षेत्र वन होइन भन्नुभयो,’ चौधरीले भने, ‘गाउँपालिका अध्यक्ष पनि अहिले विदेश हुनुहुन्छ, के गर्ने भन्ने अलमल छ ।’ विपन्न मजदुरलाई विनाकारण पक्राउ गरेको बुझिएको उनले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने शिवरत्नपुरका दुई नेपालीलाई भारतीय वन विभागले पक्राउ गरेकोबारे आफूलाई जानकारी नआएको बताए । उनले आफूले यसबारे बुझ्ने बताए । ‘नेपालीलाई भारतीय वनका कर्मचारीले पक्राउ गरेको विषयमा मलाई अहिलेसम्म जानकारी छैन । अब थाहा पाएँ, के रहेछ बुझ्छु,’ उनले भने । 

प्रकाशित:
2024/09/12, 8:13
SPA
KN
Priya Gahana Pasal