भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

पहिरोले सडक अवरुद्ध भएपछि पहाडी जिल्लाहरूको यातायात ठप्प
सुदूर प्रेस संवाददाता

धनगढी–दुई दिन देखि भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बुधवार राती देखि सुदूरपश्चिमका सबै जिल्लामा निरन्तर वर्षा भइरहेको छ । तीव्र वेगको हावा सँगै भइहरेको वर्षाले मानिसहरूलाई आउजाउ गर्न समेत समस्या भइरहेको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि तराइका विभिन्न नदीहरूमा जल स्तर बढेको छ । कैलालीको कैलारी र भजनी नगरपालीकाका विभिन्न बस्तीहरूमा पानी पस्न थालेको छ । वर्षा पछि खसेको पहिरोले तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसहित विभिन्न सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहु खर्क क्षेत्रमा पहिरो खसेको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिकास्थित साहु खर्कमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । यस्तै डडेलधुराबाट डोटी जोड्ने के आई सिंह राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । यस्तै डोटीको बुडरदेखि जोग बुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । आलि ताल गाउँपालिकाको सुन खोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । यस्तै बझाङको जय पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्ध भएको हो । पहिरोले ल्याएका ठुला ढुङ्गाले बिजुलीको पोल–तार बगाएपछि बझाङको विद्युत् सेवा पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रुपमा यात्रा गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित:
2024/09/13, 11:11
SPA
KN
Priya Gahana Pasal