बाढी पहिरोका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, ३ दिनसम्म राष्ट्रिय शोक; झन्डा आधा झुकाउने सरकारको निर्णय

सुदूर प्रेस संवाददाता

काठमाडौं – बाढी पहिरोमा परेर गम्भीर घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्था सरकारले गर्ने भएको छ । संयुक्त राष्ट्र सङ्घको ७९ औ महासभाबाट भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि सोमबार साँझ बसेको मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो ।

साथै मन्त्रीपरिषद्ले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ । यस्तै मन्त्रीपरिषद्का सबै सदस्यको १ महिनाको तलब विपद् जोखिम व्यवस्थापन कोषमा जम्मा गर्ने पनि निर्णय भएको छ । र, सोही कोषमा बाढी पहिरोको तत्काल राहतका लागि अर्थ मन्त्रालयबाट १ अर्ब रकम तत्काल निकासा गरिने भएको छ ।

बाढी तथा पहिरोका कारण विस्थापितहरूलाई तत्काल अस्थायी आवास र खाद्यान्नको व्यवस्था गरिने भएको छ । खानेपानी सडक विद्युत्को तत्काल मर्मत सम्भार गर्ने र नदी किनारमा बसेकालाई स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्ने पनि मन्त्रीपरिषद्को निर्णय छ ।

प्रकाशित:
2024/10/01, 8:17
SPA
KN
Priya Gahana Pasal