भारतको अहमदाबादमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २०० भन्दा बढी 'शव प्राप्त'

'एकजना ब्रिटिश यात्रु जीवित रहेको जानकारी'

बीबीसी– भारतको अहमदाबाद सहरमा लन्डन ग्याटविक तर्फ जान लागेको एअर इन्डियाको एक बोइङ ७८७-८ ड्रिमलाइनर यात्रुवाहक विमान उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको छ।

एअर इन्डियाले सो दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको जनाएको छ। तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।

अहमदाबाद सहरका प्रहरी प्रमुखले विमान दुर्घटनास्थलबाट हालसम्म २०० वटाभन्दा बढी शवहरू निकालिसकिएको जानकारी दिएका छन्। उनका अनुसार घाइते भएका ४० जनाभन्दा बढीलाई अस्पतालहरूमा लगिएको थियो। अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले समाचार संस्था एएनआईलाई विमानको सिट नम्बर ११ए मा रहेका एकजना यात्रु जीवित रहेको बताएका छन्। उनले ती यात्रुको अस्पतालमा उपचार भैरहेको बताएका छन्। 

त्यसअघि उनले समाचार एजेन्सीहरूसँग कुरा गर्दै दुर्घटनाग्रस्त विमानमा 'कोही पनि जीवित बचेको हुन सक्ने सम्भावना नदेखिएको' बताएका थिए।

प्रहरी कमिश्नरका अनुसार उक्त विमान विमानस्थलनजिकै डाक्टरहरू बस्ने एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो र त्यस क्रममा जमिनमा पनि मानिसहरू हताहत भएका छन्।

अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एकजना प्रवक्ताले दुर्घटनापछि विमानस्थल बन्द गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि त्यहाँका सबै उडान गतिविधिहरू स्थगित गरिएको बताएका थिए। उक्त दुर्घटनाका बारे थप विवरणहरू आउने क्रम जारी नै रहेको छ।

 

प्रकाशित:
2025/06/13, 7:53
SPA
KN
Priya Gahana Pasal