धनगढी– कैलालीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा एक वृद्धाको शव फेला परेको छ ।
जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शाहीको शव बिहान सवा ८ बजेको समयमा उनको दुई तले घरको सुत्ने कोठामा फेला परेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
उनकाअनुसार शाही एक्लै बस्ने दुई तले घरको माथिल्लो तलामा सुत्ने कोठाको खटियामा मृत अवस्थामा उनी भेटिएकी हुन् ।
प्रारम्भिक अनुसन्धानमा उनको छातीमा धारिलो हतियार प्रहार गरिएको तथा घाटीमा समेत चोट देखिएको डीएसपी सिंहले बताए ।
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ तर अहिलेसम्म घटनाबारे कुनै तथ्य फेला पर्न सकेको छैन ।
घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।