काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा अभिलेखमै नरहेको विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा चार जना विरुद्ध मुद्धा दायर गरेको छ । तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको पुष्टि भएकाले उनीहरुविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुद्धा लाग्नेहरुमा जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पंजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गिता बुढा रहेका छन् । उनीहरुले काल्पनिक विद्यालय खडा गरी भवन निर्माणका नाममा सात लाख ६० हजार रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।
अहिलेको ठूलीभेरी नगरपालिका वडा नम्बर ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ । त्यो विद्यालयमा आर्थिक वर्ष २०६७÷०६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट बिनियोजन नभएको र भवन पनि नबनेको पाइएको छ ।
अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुले तत्कालीन समयमा काल्पनिक विद्यालयको उपभोक्ता समिति गठन गरी जस्ता–छानासहितको २ कोठे भवन निर्माणका नाममा झुट्टा र नक्कली कागजात तयार पारेर चेकमार्फत जिल्ला प्राविधिक कार्यालयबाट भुक्तानी समेत लिएको पाइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।