डोटी – बडीकेदार गाउँपालिका-३ जैसीबाजमा बिजुलीको करेन्ट लागेर ७ बाख्रा मरेका छन् । जंगलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीमबहादुर साउद र भगिराम साउदका बाख्राको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
घटनाबारे विस्तृत जानकारी भने प्रहरीको अनुसन्धानपछि मात्र थाह हुने खड्यौली प्रहरी चौकीले जनाएको छ । तार लत्रने, रूखका पातहरूमा झांगिने तथा पोलहरू ढलेका कारण वर्षाको समयमा विद्युत् प्रवाह भइरहेकाले त्यसबारे सरोकारवालाले विस्तृत रुपमा जाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।
केही समयअगाडि वडा नम्बर ४ मान्नाकापडीमा यसगरी करेन्ट लागेर मृत्यु भएको थियो । उनले यस्तै लापरबाही भए मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सरोकारवालाले गम्भीरतापूर्वक परीक्षण गर्न आवश्यक रहेको समेत बताए ।
स्रोतका अनुसार भने कमसल सामग्रीको प्रयोग एवं निर्माण व्यवसायीको गुणस्तरहीन कामका कारण अनावश्यक विद्युत प्रवाह भई निर्दोष पशुपंक्षी एवं मानिसलाई करेन्ट लाग्ने गरेको छ । स्थानीय बासिन्दाले घटनाको सत्यतथ्य छानबिन भई दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।