जगत साउँद, धनगढी— धनगढी उपमहानगरपालिका–१३ मा अवस्थित कैलाली सामुदायिक वन परिसरमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। किङ्गफिसर स्कुलको सहकार्यमा आयोजित कार्यक्रममा सामुदायिक वनको कार्यालय वरपर पाँच सय बिरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष हरिश सिंह बोहराले जानकारी दिए। वृक्षारोपणका लागि आवश्यक बोटहरू सव डिभिजन वन कार्यालयले उपलब्ध गराएको थियो। कार्यक्रम किङ्गफिसर स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो। किङ्गफिसर स्कुलकी शिक्षिका दुर्गा भट्टले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप तथा सामाजिक उत्तरदायित्वमा पनि सहभागी गराउने उद्देश्यले वृक्षारोपणमा समावेश गरिएको बताइन्। उनले समुदायका उपभोक्ताले रोपिएका बिरुवाको संरक्षणमा चासो नदेखाउनु चिन्ताको विषय रहेको पनि उल्लेख गरिन्। वृक्षारोपण कार्यक्रमको उद्घाटन वडा नं १३ का अध्यक्ष विजयराज जोशीले गरेका थिए। कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, नेपाल प्रहरी, सञ्चारकर्मी, स्कुलका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।