बैतडीमा जिप दुर्घटना: दुईको मृत्यु, ६ जना घाइते

जिप ७० मिटर तल खस्यो
सुदूर प्रेस संवाददाता

दार्चुला–धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शनिबार बिहान साढे ५ बजेतिर बैतडीको दशरथचन्द नगरपालिका–६ खिपाली मोडमा सुप प्र ०१–००१ ज १३७२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा डिलाशैनी गाउँपालिका–१ निवासी २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। घाइते हुने अन्य व्यक्तिहरुमा डिलाशैनी–१ का ४५ वर्षीय रामकुमार राना, ५१ वर्षीय कलमा घामी, २७ वर्षीय राजेन्द्रबहादुर खत्री, २५ वर्षीय हेमन्तप्रसाद, २१ वर्षीया भागरथी खत्री र उनकी २ वर्षीया छोरी एलीसा खत्री रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये कलमा घामीको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ। घाइते सबैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए।

 

प्रकाशित:
2025/07/12, 9:02
SPA
KN
Priya Gahana Pasal