धनगढी– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रञ्जिता लाइ साधारण सदस्य समेत नरहने गरी हटायर आफ्ना वुवालाइ पार्टी अध्यक्ष वनाएका छन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी चयन हुनुभएको छ ।
पार्टीभित्र विवाद बढिरहेका बेला नाउपाले संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो । भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो ।
नाउपाको राष्ट्रिय भेलाले नयाँ अध्यक्षमा प्रतिनिधि सभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई चयन गरेको छ । रुपन्देहीमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने भएकाले पार्टीले विधानसम्मत, निर्वाचन आयोगको नीतिसम्मत जानुपर्ने भएकाले यही निकासका लागि यो कमद चालेको बताइएको छ ।
पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेको हो ।
अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिन यो निर्णयमा पुगेको बताउनुभयो । रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म पनि पार्टीको बैठक नबोलाएको भन्दै निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । चौधरीले पार्टी कमिटीको सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
तर असन्तुष्ट पक्षले भने यो प्रक्रिया विधि सम्मत नभएका कारण निर्वाचन आयोगले मान्यता नदिने दाबी गरेको छ । बैठकमा फरक मत राखेका नेताहरूले समस्या समाधान गरेर मात्रै यो निर्णय गर्न प्रस्ताव गरे पनि नमानेको भन्दै असन्तुष्टि जनाएका छन् । पारिवारिक विषय जोडिएकाले पार्टी विभाजनमा जान सक्ने चेतावनी उनीहरूको छ ।
पार्टीबाटै निस्कासित रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताउनुभएको छ । पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेकाले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने र आफू पार्टीको अध्यक्षमा कायमै रहेको उहाँको भनाइ छ ।