धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै सरकारी निवासको कम्पाउन्डभित्र बिना हेल्मेट मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिवाना गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफूले मोटरसाइकल चलाएकै स्थानमा ट्राफिक प्रहरीलाई बोलाएर नियमअनुसार चिट काट्न आग्रह गरेको जानकारी दिए।
उनले भने, “म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु। कानुन सबैका लागि समान हुनुपर्छ। ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन। कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ।”
मुख्यमन्त्री शाहले आफूले कानुनको सम्मान गर्दै जरिवाना तिरेको उल्लेख गर्दै सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे। उनले कानुन कार्यान्वयनमा कुनै पनि व्यक्ति वा पदका आधारमा भेदभाव हुन नहुने धारणा व्यक्त गरे।