वृद्धको हत्या गरी टाउको झोलामा राखेर प्रहरी कार्यालय पुगेपछि...

Dhanding
सुदूर प्रेस संवाददाता

धादिङ - समय : शुक्रबार बिहान करिब सवा १ बजे । 
स्थान : धादिङ जिल्ला प्रहरी कार्यालय
जिल्ला प्रहरी कार्यालयको मूलगेटमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई एक जना युवा आएर  ‘म त मान्छे काटेर आएको’ भनेर सुनाए ।

 

कार्यालयलाई पहरा दिइरहेका ती प्रहरीले पत्याएनन् । प्रहरीले नपत्याएपछि ती युवकले झोला खोलेर देखाए । झोलामा एक पुरुषको टाउको मात्रै देखेपछि ती प्रहरीको होस उड्यो । बिहीबार राति १० बजेतिर धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा संस्कारअनुसारको पितृप्रसाद खाएर फर्किरहेका ६४ वर्षीय सोमबहादुर गुरुङ र २३ वर्षीय राजु परियारको बाटोमा जम्काभेट हुन्छ ।

राजुले सोमबहादुरलाई सोधे, ‘यति राति कता हिँडेको बाबै ?’ सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले । वृद्धले युवकको घॉटी समाते, युवक फुत्केर नजिकैको घरमा गएर खुर्पा ल्याएर वृद्धको गर्दन छिनाए । त्यसपछि उनी हत्या गरिएका वृद्धको टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगे ।

युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए । सामान्य विवाद हुँदा खुर्पाले हानेर हत्या गरी राति १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको रेग्मीले जानकारी दिए ।

प्रकाशित:
2020/09/04, 11:05