सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय पार, आज थपिए २३ जना 

कैलालीका मात्रै १८ जना
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी – सुदूरपश्चिम प्रदेशमा आज थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीमा मात्रै १८ सङ्क्रमित थपिएका छन् । कैलालीको धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाका सूचना अधिकारीले बताएका छन् । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ७ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ। कैलालीका १८ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 

उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १४ जना, गोदावरी नगरपालिकाका चार जना र बाजुराको बडिमालिका नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ।  
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
प्रयोगशालामा आज गरिएको परीक्षणमा दार्चुला र बझाङका चार जनामा सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। 
उनका अनुसार बझाङको दुर्गा थली गाउँपालिकाका एक जना, र छब्बिसपाथीभेरा गाउँपालिकाका एक जना तथा दार्चुलाको ब्यास गाउँपालिकाका एक र महाकाली नगरपालिकाका एक जनामा  कोरोना पुष्टि भएको हो।
डडेलधुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको कोरोना परीक्षण गरिएको छ।

 यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय १८ पुगेको छ। 

प्रकाशित:
2020/09/09, 5:52